काठमाण्डौ । मन्त्रीपरिषदको नियमित बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा मन्त्रीपरिषदको नियमित बैठक सुरु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

एकघण्टाअघिदेखि सुरु भएको बैठकले विभिन्न सार्वजनिक संस्थानहरुमा नियुक्तिको निर्णय गर्ने बताइएको छ । यस्तै, कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि भइरहेका प्रयासहरुको समेत समीक्षा गरिनेछ । 

बैठकमा रिक्त राष्टियसभाको एक सदस्य पदमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा समेत निर्णय हुने दाबी गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको रिक्त एक पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पठाउन चाहेका छन् । आफ्नो विषयमा छलफल हुने बुझेपछि अर्थमन्त्री डा. खतिवडा आजको मन्त्रीपरिषद बैठकमा उपस्थित छैनन् । 

बालुवाटारस्थित स्रोतका अनुसार आजको बैठकले डा. खतिवडालाई राष्ट्रियसभा सदस्यमा पठाउने वा नपठाउने भन्ने विषयमा निर्णय गर्नसक्ने संभावना छ ।