काठमाण्डौ । राष्ट्रियसभाको सदस्यमा एक रिक्त सिटमा बामदेव गौतमलाई नै सिफारिस गरिने भएको छ । 

भर्खरै सकिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी निर्णयअनुरुप गौतमलाई सिफारिस गर्न पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेपछि त्यसमा उनले समेत सहमति जनाएका हुन् । 

बैठक सकिएपछि प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापाले भने-'सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्य सिफारिश हुने बैठकलाई जानकारी गराउनुभयो ।' 

थापाका अनुसार पार्टीको विवाद समाधानका लागि विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको

 प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय समेत भएको छ ।

राष्ट्रियसभा सदस्यमा बामदेव गौतमको नाम सिफारिस हुने यो निर्णयसँगै अर्थमन्त्रीको रुपमा रहेका डा. युवराज खतिवडा निरन्तर हुने संभावना सकिएको छ । अब डा. खतिवडा भदौ २० गतेपछि स्वतः पदमुक्त हुनेछन् । 

खतिवडा निकट स्रोतका अनुसार स्वतः पदमुक्त हुनुअघि नै उनले राजीनामा गर्ने तयारी गरेका छन् । 

निकै लामो गलफत्तीपछि प्रधानमन्त्री ओली पार्टीमा बिग्रह आउन नदिन खतिवडालाई नै राष्ट्रियसभामा निरन्तरता दिनुपर्ने अडानबाट पछाडि हटेका हुन् ।