काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले राष्टियसभामा पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीको रुपमा निरन्तरता पाउने संभावना सकिएको छ । 

बामदेव गौतमको नाम सिफारिस भएपछि डा. खतिवडा मन्त्रीको रुपमा भदौ २० गतेसम्म मात्र रहन्छन् । यसको अर्थ उनी अब अर्थमन्त्रीको कुर्सीमा केही घण्टासम्म मात्र बस्न पाउँछन् । भदौ २० पछि उनी स्वतः पदमुक्त हुन्छन् । तर, त्यसअघि नै आफूले अर्थतन्त्रमा गरेका सुधार र कामहरुको फेहरिस्तसहित उनले राजीनामा गर्ने विषय पनि बाहिरिएको छ । के साच्चिकै अर्थमन्त्रीले राजीनामा गर्ने तयारी गरेका हुन् ? 

अर्थमन्त्रीका प्रेस संयोजक यमप्रसाद पौडेलका अनुसार यो विषयमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । 'भर्खरै सचिवालयको निर्णय आयो, कुनै निर्णय भए पनि अब चाहिँ होला कि ?' उनले भने-'२० गतेसम्म उहाँले अर्थमन्त्रीको रुपमा काम गर्न पाउनुहुन्छ । यसकारण उहाँ भोलि पनि नियमित काममा उही समयमा आउनुहुन्छ ।' 

पौडेलका अनुसार राजीनामा गर्ने वा स्वतः पदमुक्त हुने भएकोले शुक्रबार कार्यालय आएर काम गरी चूपचाप बस्ने भन्ने विषयमा भोलि(शुक्रबार) मात्र थाहा हुनेछ ।