काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबीच भएको सहमति रातारात परिवर्तन भएन वा कुनै खेल भएन भने भोलि रातिसम्म बहुमतको सरकार गठनको आधारसहित दाबी पेश हुनेछ । यो दाबी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पेश गर्नेछ । यो गठबन्धनमा माओवादी केन्द्र, एमालेको विद्रोही समूह लगायत सहभागी हुनेछन् । आजसम्म कोरिएका खाका र बनेका सहमतिहरु रातारात दवाब, प्रभाव वा अन्य कुनै चमात्कार भएर भत्किएनन् भने कांगे्रेस सभापति शेरबहादुर देउवा फेरि एकपटक प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त हुनेछ । त्यसो भयो भने उनी नेतृत्वको सरकारले लिने आर्थिक नीति, देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बन्नसक्ने संभावित पात्र र उसले अर्थतन्त्र र सेयरबजारलाई हेर्ने दृष्टिकोणमा समेत धेरैको ध्यान जानसक्ने देखिन्छ ।
उसो भए देउवाले सरकारको नेतृत्व गर्ने निश्चित अवस्था हो भने अबको अर्थमन्त्री को होला ? बजेटको मुखैमा बन्ने नयाँ सरकारले लिने आर्थिक नीति, त्यसमा पनि खासगरी सेयर बजारप्रतिको धारणा कस्तो होला ? देउवाको नेतृत्वमा सरकार बनेपछि बजारले कस्तो प्रतिक्रिया जनाउला ? कतिपयले यो कोणबाट पनि विश्लेषण गर्न थालेका छन् ।
बन्नसक्ने नयाँ सरकार, सो सरकारमा बन्ने अर्थमन्त्री र उसको बजारसम्बन्धको दृष्टिकोण, उसको नेतृत्वमा बन्ने आर्थिक नीति जस्ता कारणले सेयर बजार प्रभावित हुने गर्छ । नेपालको सेयर बजार त अर्थमन्त्री बन्नसक्ने संभावित अनुहारहरुको चर्चाले मात्रै पनि प्रभावित हुँदै आएको छ । कुनै व्यक्ति अर्थतन्त्री बनेर आउँदा बजारमा उछाल आउने र अनुदार अर्थमन्त्री पद जाँदा पनि उछाल आउने अनौठो प्रवृति नेपालको सेयर बजारमा देखिन्छ । डा. युवराज खतिवडा अर्थमन्त्रीको रुपमा आउँदा बजार उति खुशी थिएन, जबकि उनी पदच्यूत हुँदा खुशीले बजार हराभरा भएको थियो । यहीकारण समेत आगामी सरकार र त्यसमा अर्थमन्त्री बन्नसक्ने अनुहार बजारका लागि चासोको विषय हुन् ।
कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहबीचको सहमति भत्किएन भने अबको प्रधानमन्त्री देउवा हुने निश्चित देखिन्छ । त्यसो भयो भने उनको सरकारलाई आर्थिक रुपले समेत सफल बनाउने खालको व्यक्ति अर्थमन्त्रीको रुपमा आउनेछ ।
देउवा नेतृत्वको सरकारमा माधवकुमार नेपाल पक्षलाई कम्तीमा ६ वटा मन्त्रालय दिने प्रारम्भिक सहमति बनेको स्रोतहरुको दाबी छ । यदि यस्तो भएको हो भने अर्थमन्त्रालय यो समूहले पाउने संभावना हुनसक्छ । त्यसो हुँदा माधव नेपाल समूहका सारथी र नेपालका विश्वासपात्र सुरेन्द्र पाण्डे देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बन्नसक्ने संभावित पात्र हुन् । यो नाम नेपाली सेयरबजारका लागि सुखद नाम पनि हो । बजार विश्लेषकहरुका अनुसार सुरेन्द्र पाण्डे अर्थमन्त्री बने भने त्यो न्यूजकै कारणले पनि केही दिन बजारमा उछाल आउनसक्ने संभावना देखिन्छ ।
यदि प्रधानमन्त्री भएकै दलले अर्थमन्त्री लिने विगतका कतिपय अभ्यासहरुले यो पटक पनि निरन्तरता पाए भने कांग्रेसबाटै कोही नेता अर्थमन्त्री हुनेछन् । कांग्रेसबाट अर्थमन्त्री हुने संभावित व्यक्तिहरुमा नेपालका पहिलो र एकमात्र डलर अर्बपति विनोद चौधरीको नाम सबैभन्दा अगाडि आउँछ । उनी अर्थमन्त्री बन्ने संभावना निकै प्रवल रहेको स्रोतहरु बताउँछन् । यदि चौधरीले तत्काल अर्थमन्त्री बन्न रुचि देखाएनन् भने डा. मिनेन्द्र रिजाल समेत अर्थमन्त्रीको दाबेदार बन्न सक्नेछन् । उनी कांग्रेसले गठन गरेको छायाँ सरकारमा समेत अर्थमन्त्रीकै भूमिकामा छन् । कांग्रेसबाट अर्थमन्त्रीको रुपमा डा. रामशरण महत नै आउने संभावना समेत रहेको कतिपयको तर्कलाई समेत नकारिहाल्न मिल्दैन ।
तर, अर्थमन्त्री महत्वपूर्ण पद भएकोले यसमा माओवादी केन्द्रको समेत दाबी रहनेछ । माओवादी केन्द्रबाट वर्षमान पुन र कृष्णबहादुर महरा अर्थमन्त्रीको रुपमा आउनसक्ने संभावना समेत उत्तिकै देखिन्छ ।
बजारमा कस्तो असर पर्छ त?
यसरी हेर्दा संभावित जुनै अनुहार आए पनि सेयर बजारका लागि सुखद न्यूज नै हुनेछ । सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्दा सेयर बजारका लगानीकर्ता उत्साहित हुनेछन् । विनोद चौधरीले अर्थतन्त्रको बागडोर सम्हाले भने त बजारका लगानीकर्ताको मनोबल अझै बढ्नसक्ने विश्लेषण गरिन्छ । बाँकी संभावित पात्रहरु पनि सेयर बजारका लागि सुखद नै हुनेछन् ।
समग्रमा हेर्दा कोरोनाका कारण लगानीका अन्य क्षेत्र सुषुप्त भएका, कोरोनाकालमै पनि बैंकहरुले सेयर बजारमै लगानी गरेर आफ्नो नाफा मेन्टेन गरेको गत वर्षको अवस्था, ब्याजदर तत्काल नबढ्ने प्रष्ट संकेत लगायतका कारण बजार त्यसै पनि माथि गइरहेको छ । अन्य क्षेत्रको लगानी सुस्ताएको बेला बजारमा अझै लगानी भित्रिएर नेप्से बुम हुने अवस्था छ भने त्यसमाथि बजारमैत्री अर्थमन्त्रीको उदय भयो भने लगानीकर्ताको मनोबल अझ बलियो बन्ने निश्चितप्राय देखिन्छ ।
सम्बन्धित समाचार:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago