काठमाण्डौ । सर्वाधिक चासोको विषय बनेको काठमाण्डौ महानगरपालिकाको मतगणना सुरु भएको छ । 

राष्ट्रिय सभागृहमा केहीबेरअघिदेखि काठमाण्डौ महानगरपालिकाको मतगणना सुरु भएको हो । 

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार काठमाण्डौको वडानम्बर १ र ३२ बाट एकैपटक मतगणना थालिएको निर्वाचन कार्यालयले जनाएको छ । 
मतगणनास्थल क्रमशः थप्दै जाने रणनीति रहेको कार्यालयले जनाएको छ । 

काठमाण्डौ महानगरपालिकाको सम्भावित मतपरिणामको विषयमा सर्वाधिक चासो देखिएको छ । यो क्षेत्रमा एमाले, कांग्रेसका उम्मेद्वारहरुलाई मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले टक्कर दिने प्रक्षेपणहरु सार्वजनकि भइरहँदा चासो अझ बढ्दै गएको छ । केही संस्थाहरुले त बालेन नै काठमाण्डौको मेयरमा निर्वाचित हुने प्रक्षेपण सार्वजनिक गरेका छन् । 

काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन् । 

काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् । 

तीन लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको थियो ।