काठमाण्डौ । माओवादी नेता टोपबहादुर रायमाझीले देउवाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिंदै गर्दा आफूले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने दाबेदारी प्रस्तुुत गरेका थिए । तर, बुधबार प्रधानमन्त्रीको ८ सदस्यीय क्याबिनेटमा उनको दाबेदारीले फेल खायो । माओवादीभित्र सदाबहार मन्त्री भन्ने नयाँ परिचय बनाएका कृष्णबहादुर महराको जादूूले फेरि पनि काम गर्यो र उनी गणतन्त्रपछिको पाँचौपटक मन्त्री बन्दै देउवा सरकारमा पार्टीको नेतृत्व सम्हाल्न पुुगे । 

पार्टीभित्र प्रचण्डका प्यारा मानिने कृष्णबहादुर महरा यसपटक उपप्रधानमन्त्रीसहित परराष्ट मन्त्रालयको बागडोर सम्हाल्ने गरी सरकारमा सहभागी भएका छन् । मन्त्रीको रुपमा सरकारमा उनको यो सहभागिता पाँचौ हो भने उपप्रधानमन्त्रीको रुपमा तेश्रो । उनी २०६३ सालमा पहिलोपटक संचारमन्त्री भएका थिए । त्यसपछि २०६५ सालमा पुनः संचारमन्त्रीमै दोहोरिने शौभाग्य पाए । ०६७ सालमा गृहमन्त्री भएका महरा २०७३ सालमा उपप्रधान तथा अर्थमन्त्री भए । अहिले देउवा सरकारमा उनी उपप्रधान तथा परराष्टमन्त्री भएका छन् । हरेक पटक मन्त्री हुँदा उनले ठूला ठूला काण्ड मच्चाएका छन् । भ्रष्टाचारका ठूला प्रकरणहरुमा उनको नाम मुछिएको छ । तर, माओवादी अध्यक्ष प्रचण्डले चाहि यिनै विवादित छविका महरालाई नै सधैं अगाडि सारिरहँदा अन्य माओवादी नेताहरु रनभुुल्लमा छन् । पछिल्लो समय महरालाई माओवादीभित्रको सदाबाहर मन्त्रीको रुपमा चिन्न थालिएको छ । माओवादी सरकारमा जानै नहुने, महरा मन्त्री बन्नैपर्ने बिषयसँग जोडिएका रमाइला किस्साहरु समेत पार्टीका नेताहरुले सुनाउने गर्छन् । 

महराको यो रफ्तार यसैगरी बढिरह्यो र उनको जादूले काम गरिरह्यो भने उनले केही वर्षको अन्तरालमै हालसम्मका सिहंदरबारका सदाबहार मन्त्री विजयकुमार गच्छदारलाई टप्ने देखिन्छ । विजयकुमार गच्छदार शेरबहादुर देउवाको पालासम्म १३ पटक मन्त्री बनिसकेका छन् । 

सदाबहार मन्त्रीमा नम्बर एक गच्छदार
गणतन्त्रपछि बनेका प्राय सबै सरकारमा गच्छदारको सहभागिता छ । सत्ताबिना बस्नै नसक्ने बानी परेका गच्छदारले मन्त्री बन्नैका लागि पार्टी समेत फूटाउन पछि परेका छैनन् । नैतिकता बेचेर होस् वा पार्टीलाई नै कमजोर बनाएर, उनी सरकारमा सहभागी भएको कालो इतिहास साक्षी छ । उनलाई कतिपयले नेपाली राजनीतिमा मुसा प्रवृतिको उदाहरणको रुपमा समेत हेर्ने गर्छन् । सत्ताका लागि जोसँग जहिले पनि जस्तोसुकै सम्झौता गरिदिने र जोसुकैको सारथी भन्ने गच्छदारको अचम्मको कला छ । यही कलाका कारण उनी लगातार मन्त्री बनिरहेका छन् । 

गच्छदारको मन्त्रीको यात्रा ०४८ सालदेखि सुरु भएको थियो । गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा उनी संचारमन्त्री भएका थिए । त्यसपछि ०५२ सालमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी निर्माण तथा यातायात मन्त्री भए । ०५४ सालमा सूूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी निर्माण तथा यातायात मन्त्रालयमै दोहोरिए । ०५५ सालमा गिरिजा कोइरालाको नेतृत्वमा बनेको सरकारमा पनि उनी त्यही मन्त्रालयमै रहे । ०५६ सालको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा गच्छदार पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । त्यसपछि उनी जलस्रोत मन्त्री भए ०५६ फागुन २७ मा । ०५८ सालमा देउवाको नेतृत्वमा बनेको सरकारमा गच्छदार जलस्रोत मन्त्री भए । त्यसपछि केही वर्ष उनको मन्त्रीको यात्रा रोकियो, तर लोकतान्त्रिक गणतन्त्रको उदयपछि उनको भाग्य खुुल्यो र फेरि सुरु भयो मन्त्रीको अनवरत यात्रा । ०६५ सालमा बनेको प्रचण्ड सरकारको पालामा उनी भौतिक योजना तथा निर्माणमन्त्री भए । यस्तै, ०६६ मा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्रीमा बढुवा भए र मन्त्रालय भौतिक योजना तथा निर्माण नै लिए । ०६९ सालमा बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा गृहमन्त्रीको रुपमा रहे । केपी ओली सरकारको पालामा समेत उनी सत्ताविहीन भएर बस्न सकेनन् । ओलीको सारथी बन्दै उनी उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बने । प्रचण्ड सरकारलाई अन्तिम अवस्थामा साथ दिएका छोटो अवधिमा भए पनि सरकारमा बस्न भ्याए । प्रचण्ड सरकारमा अन्तिम अवस्थामा प्रवेश गर्नु उनको एक मात्र उद्देश्य देउवाको नेतृत्वमा बन्ने सरकारमा सुरुवातदेखि नै शक्तिशाली उपप्रमको रुपमा रहनुु थियो, र भयो त्यही । देउवाको मन्त्रीमण्डलमा विजय गच्छदारले वरिष्ठ उपप्रधानमन्त्रीको रुपमा सपथ खाएका छन् । 

अरु पनि उस्तै 
देउवाले मन्त्रीमण्डलमा पहिलो चरणमा सहभागी गराएका ८ जनामध्ये अधिकांशले धेरै मन्त्रालय चाखिसकेका छन् । शेरबहादुर देउवा आफैं चौथोपटक प्रधानमन्त्री भएका हुन् भने त्यसअघि उनी एकपटक गृहमन्त्री भएका थिए । यस्तै, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ योपटक समेत गरी ५ पटक मन्त्री भइसकेका छन् । जनार्दन शर्मा ३ पटक, ज्ञानेन्द्र कार्की ३ पटक, प्रभूू शाह ३ पटक र फरमुल्लाह मन्सुर २ पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।