 
                     
                                
                             
                                    काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरी हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरी हिल्समा आयोजित विशेष समारोहका बीच अनावरण गरिन् ।
आइतबार चन्द्रागिरी हिल्समा आयोजित एक समारोहमा विभिन्न राजनीतिक दलका नेता, सभासद लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
चन्द्रागिरी हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इञ्च उचाईको छ । मूर्तिकार नविन सुवेदीले सो शालिक निर्माण गरेका हुन् ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियान कार्यक्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको यस चन्द्रागिरीमा उनको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बद्र्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भएकोले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त शालिक निर्माण गरेको प्रष्ट्याएको छ ।
उनले हाल भालेश्वर मन्दिर रहेको स्थानमा बसेर काठमाण्डौ उपत्यकामाथि विजय प्राप्त गर्न सकौं भनी कामना गरेका तथ्य पनि इतिहासमा भेटिने चन्द्रागिरीले जिकिर गरेको छ । यसले गर्दा यो क्षेत्र नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षको संगमस्थलका साथै एकीकृत पर्यटकीय गन्तव्यका रुपमाविकास गर्न सहयोग पुग्ने अपेक्षा हिल्सले व्यक्त गरेको छ ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेख गर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स–साना सामन्ती राज्य रजौटाहरुलाई एकताको सूत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गरेको बताइन ।
उनले प्राकृतिक सौन्दर्यले सुशोभित यस पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिल गर्ने काममा यस संस्थाले अहम् भूमिका निर्वाह गर्नसक्ने अपेक्षा व्यक्त गरिन ।
सो समारोहलाई सम्बोधन गर्दै संस्कृतिपर्यटन तथानागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले चन्द्रागिरि हिल्सले केवलकारको निर्माण मात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई प्रसंशनीय काम गरेको दाबी गरे ।
उनले आइतबार मात्रै आगामी बर्ष सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी दिए ।
समारोहमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतले चन्द्रागिरीमा पृथ्वीनारायण शाहको शालिकनिर्माण गरेर इतिहासको संरक्षण र सम्बर्धनका लागि राम्रो काम भएको बताएका थिए ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भएको बताए ।
यसका साथै प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएरलगायतकाअन्य साहसिक पर्यटनका योजनाहरुको पनि तयारी गरिएकोले यस क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएको हिल्सले जनाएको छ । अहिले नै यहाँ प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । अहिलेसम्मको एक बर्षको बीचमा नेपाल सरकारलाई भ्याट तथा स्थानीय कर गरी चन्द्रागिरी हिल्सले रु ७ करोड २८ लाख राजश्व योगदान गरिसकेको छ ।
यहाँको भालेश्वर महादेव मन्दिरबाट मात्र यो अवधिमा ६३ लाख, १२ हजार ९५० रुपैयाँ भेटि संकलन भएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19