काठमाण्डौ । एमाले र माओवादी केन्द्रबीचको एकतामा कुरा मिलेको छ । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र सरकार विस्तार सम्बन्धी छलफल निश्कर्षमा पुुगेको हो । 

पार्टी एकता र सरकार गठनबारे दुई अध्यक्षबीच ठोस समझदारी बनेकाले त्यसलाई अनुुमोदन गर्न अहिले बालुुवाटारमा पार्टी एकता संयोजन समिति बैठक बसिरहेको छ । 

स्रोतका अनुसार ओली र प्रचण्ड एकीकृत पार्टीको महाधिवेशनसम्म समान हैसियतमा रहनेछन् । दुवैले अध्यक्ष वा सहअध्यक्षको रुपमा काम गर्नेछन् । त्यस्तै, प्रधानमन्त्रीमा समेत आलोपालो गर्ने भद्र सहमति भएको छ । केपी ओली प्रधानमन्त्री हुँदा पार्टीको सेरेमोनियल अध्यक्ष हुने र प्रचण्ड प्रधानमन्त्री हुँदा पार्टीको सेरेमोनियल अध्यक्ष हुने बिषयमा दुुई नेताबीच सहमति जुटेको एक एमाले नेताले बताए । उनका अनुसार दुुई अध्यक्षबीच एकसय सदस्य नबढ्ने गरी चुस्त केन्द्रीय कमिटी निर्माण गर्ने, दुवै पार्टीको सम्मानजनक प्रतिनिधित्व हुने गरी पार्टीका अन्य कमिटीहरु गठन गर्ने समझदारी समेत भएको छ । 

दुुई पार्टीबीच ५ दिनअघि नै एकताको समझदारीपत्रमा हस्ताक्षर हुने र दुुई पार्टी एक भएको घोषणा गरिने बताइए पनि एकीकरणपछि बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्तको बिषयमा कुरा मिलेको थिएन । एमालेका नेताहरुले जनताको बहुदलीय जनवादलाई मानेर माओवादी एकतामा सामेल हुनुपर्ने अडान लिएका थिए । माओवादीले भने २१ औं शताब्दीको जनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउनुपर्ने अड्डी कसेको थियो । दुुई अध्यक्षबीच दुवै मार्गनिर्देशक सिद्धान्तलाई आगामी महाविधेशनमा राख्ने र त्यहाँबाटै पार्टीको एकीकृत र मजबुत मार्गनिर्देशक सिद्धान्त तयार गर्ने सहमति भएको छ । 

ओली र प्रचण्डबीच सरकारमा सहभागिताको बिषयमा समेत सम्मानजनक प्रतिनिधित्वको सहमति बनेको छ । यो सहमतिअनुसार शक्तिशाली मानिएका मन्त्रालयको समेत सम्मानजनक बाँडफाँड हुनेछ । 

एमालेको तर्फबाट पार्टी एकता संयोजन समितिमा प्रतिनिधित्व गर्ने एक नेताका अनुसार प्रधानमन्त्री आलोपालो हुने बिषय लिखित रुपमै बाहिर आउनसक्ने संभावना कम रहेको छ । आलोपालो सरकार चलाउने बिषयले नकारात्मक सन्देश जानसक्ने भएकोले एकता संयोजन समितिको बैठकमा सहमति भए यो बिषयमा नेताहरुबीच भद्र सहमति मात्र हुनेछ ।