Photo : cmprachanda.com
काठमाण्डौ । लामो समयदेखि अड्किएको एमाले र माओवादी एकताले गति पाउने भएको छ । दुवै पार्टीका अध्यक्ष बुधबार 'वान टु वान' वार्तामा बसी पार्टी एकताका क्रममा पछिल्लो समय देखिएका गाँठाहरुलाई फुकाउने काम गरेका हुन् ।
एक एमाले नेताका अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्ताले पार्टी एकतामा देखापरेका सबै समस्याहरुको हल निकाली संभवत बिहीबार नै पार्टी एकताको घोषणा गर्नेछन् ।
बिहीबार एमालेको मार्गनिर्देशक सिद्धान्त 'जनताको बहुदलीय जनवाद'का जन्मदाता मदन भण्डारीको २५ औं स्मृति दिवस समेत हो । भण्डारीको २०५० जेठ ३ मा चितवनको दासढुंगामा यात्राको क्रममा षड्यन्त्रपूर्वक हत्या गरिएको थियो ।
माओवादीले समेत भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको फोटोकपीको रुपमा 'एक्काइसौं शताब्दीको जनवाद'लाई अंगिकार गर्दै आएको छ ।
स्रोतका अनुसार दुवै पार्टीका अध्यक्ष सकेसम्म बिहीबार नै पार्टी एक भएको घोषणा गर्ने र दुवै पार्टीलाई खारेज गरी 'नेपाल कम्युनिष्ट पार्टी'लाई निर्वाचन कार्यालयमा गएर दर्ता गर्ने सोंचमा छन् । ‘रातभरिमा कुनै चलखेल भएन र कुरा बिग्रिएन भने अब पार्टी एकता हुने भयो ।’ ती एमाले नेताले बिजशालासँग भने–‘जेठ ३ गते नै हामीले मदन भण्डारीलाई गुमायौ, तर यही दिन २ ठूला कम्युनिष्ट पार्टीलाई एउटै बनाउने घोषणा गरी उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न हामी आतुर छौ ।’
पार्टी एकता गर्ने टुंगोमा दुई पार्टीका अध्यक्ष पुगेपछि दुवै पार्टीले त्यसका लागि आन्तरिक तयारी थालेका छन् । दुवै पार्टीको आवश्यक बैठक बसेर भोलि बिहान एकता संयोजन समितिको बैठक डाँकिनेछ, जसले एकतालाई औपचारिकता दिनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19