चितवन । प्रचण्डपुत्री रेणु दाहालका कारण चितवन कांग्रेसको आकस्मिक भेलामा होहल्ला र हंगामा भएको छ । 

भरतपुरको होटल आइल्याण्डमा आयोजित विशेष चुनावी भेलामा कांग्रेस कार्यकर्ताहरुले एकैस्वरमा प्रचण्डपुत्रीलाई ‘कुनै पनि हालतमा भोट नहाल्ने’ भन्दै नाराबाजी र जुलुस गरेका थिए । 

जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठले सम्बोधन गर्दै गर्दा आक्रोशित कांग्रेस कार्यकर्ताले सभाहलमा हंगामा गरिदिएका थिए । होहल्ला र हंगामाका कारण केही समयसम्म अध्यक्ष श्रेष्ठको सम्बोधन नै रोकिएको थियो । 

कांग्रेस कार्यकर्ताहरुले आफ्ना आफन्त, छिमेकीलाई युद्धकालमा छानी–छानी गोली ठोक्ने पार्टीको अध्यक्षकी पुत्रीलाई कुनै पनि हालतमा मत नदिने भन्दै त्यस्तो उर्दी गर्ने नेताहरुलाई समेत नछाड्ने चेतावनी दिएका थिए । अध्यक्ष श्रेष्ठले मञ्चबाट ‘चुनावी तालमेलमा कहिलेकाही यस्तो हुन्छ’ भन्दै सम्झाएपछि र मेयरमा रेणु दाहाललाई मत हाल्न अगुवा कांग्रेस कार्यकर्तालाई निर्देशन दिएपछि उनीहरु आक्रोशित बनेका थिए । 

सबै उमेर समूहका कांग्रेस कार्यकर्ताहरुले मञ्चको पछिल्लो भागतिर बसेर होहल्ला, विरोध र नाराबाजी गरेका थिए । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेता पैसामा बिकेर कांग्रेसले जित्ने अवस्था हुँदा हुँदै मेयर पद माओवादीलाई जिम्मा लगाएको आरोप समेत लगाएका थिए । 

होहल्ला र विरोधका बीच सकिएको भेलापछि कांग्रेस कार्यकर्ताहरुले कसैको निर्देशन नमान्ने र रेणु दाहाललाई भोट समेत नहाल्ने बताएका थिए । 

सोही भीडमा भेटिएका एक कांग्रेस कार्यकर्ताले बिजशालासँग भने–‘मेरो दाजुको छातिमा गोली ठोक्नेहरुलाई हामीले मत हाल्नुपर्ने ? यस्तो कहिल्यै हुनैसक्दैन । हामी पार्टी केन्द्रको गलत निर्णय मान्दैनौ ।’ 

यसअघि कांग्रेसको केन्द्रीय निर्देशनका बिषयमा जिल्ला पार्टीमा एकमत रहेको र सबैले प्रचण्डपुत्रीलाई नै मत हाल्ने प्रचार गरिएको थियो । तर प्रचार भएजस्तो कांग्रेस चितवन एक ढिक्का होइन, रेणु दाहालको उम्मेद्वारीको बिषयले विभाजित भएको पाइएको छ । यसले कांग्रेस माओवादी केन्द्रको तालमेल नै प्रभावित हुनसक्ने र कांग्रेसका अधिकांश कार्यकर्ताले प्रचण्डपुत्रीलाई मत नहाल्ने अवस्था समेत देखिएको स्वयम् कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।