काठमाण्डौ । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेञ्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट सुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएतापनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । 

प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झनै बढी प्रतिस्पर्धात्मक एवम् रोमाञ्चकारी हुने देखिएको छ ।

यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुपअन्तर्गत संचालित गेम अन प्रा.लि.ले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त कुरा सार्वजनिक गरिएको हो । 

पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच सो सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतपत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लि.का प्रबन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी., सहायक प्रशिक्षक शैलेश कर्माचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्ट्राइकर भरत खवासले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै गेम अन प्रा.लि.का प्रबन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरञ्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफूले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्दै टीमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरञ्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको बताए । विश्वका कैयन राष्ट्रहरुले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रबन्ध निर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताए । 

मुख्य प्रशिक्षक मेघराज केसीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अब नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्धनिर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज केसी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।