काठमाण्डौ । निकै ठूलो रस्साकस्सी र कडा टक्करका बीच नेपाली कांग्रेसले ललितपुर महानगरपालिकामा बाजी मारेको छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार चिरिबाबुु महर्जनले एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारलाई झिनो मतले पछार्दै जित हासिल गरेका हुन् । 

महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिदन्दी एमालेका व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाए । यो क्षेत्रमा मतगणनाको सुरुवातदेखि नै लगातार कांग्रेसले अग्रता लिएको थियो । माओवादी केन्द्रका दिनेश महर्जन १० हजार ६ सय ६१ मतसहित तेश्रो स्थानमै सीमित रहे । 

यस्तै, उपमेयरमा समेत कांग्रेसकै गीता सत्यालले बाजी मारेकी छिन् । उनले १९ हजार ८ सय १९ मत ल्याइन् । उनको निकटतम प्रतिदन्दी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत पाइन् । एमालेसँगको गठबन्धनबाट उपमेयरमा लडेका राप्रपाका बाबुुकाजी थापाले १० हजार ५ सय ४७ मत ल्याएर तेश्रो स्थानमा चित्त बुुझाउनुपर्यो ।