काठमाण्डौ । चुनावी प्रचार अभियानको क्रममा आफूलाई बामगठबन्धनको भावी प्रधानमन्त्री दाबी गरेका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले हार व्यहोरेका छन् । देशभर बामगठबन्धनको लहर आएको बेला एमालेका प्रभावशाली नेता गौतमले भने हार व्यहोरेपछि यो परिणामलाई आश्चर्यको रुपमा हेरिएको छ । 

वरिष्ठ उपाध्यक्ष गौतमलाई कांग्रेसका उम्मेद्वार सञ्जय गौतमले ७५३ मतान्तरले हराएका हुन् । 

बर्दियाको क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका बामदेव गौतमले ४४ हजार ७६ मत ल्याए भने सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत ल्याएर जित हासिल गरे । 

यो हारसँगै बामदेव गौतमको प्रधानमन्त्री सपना यसपटकका लागि तुहिएको छ भने बामगठबन्धनको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा मैदानमा एक्लो पात्र केपी ओली बनेका छन् । अब पार्टीभित्रैबाट समेत केपी ओली दोश्रोपटक प्रधानमन्त्री बन्नका लागि अवरोध बन्नसक्ने व्यक्ति समेत नहुने भएका छन् । 

गौतमले जितेका भए ओलीको प्रधानमन्त्री बन्ने बाटोमा अवरोध बन्नसक्ने कतिपयले विश्लेषण गरेका थिए ।