काठमाण्डौ। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सूर्योदय नगरपालिकाअन्तर्गत अन्तुडाँडा सामुदायिक होमस्टेहरुमा क्यूआरमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ। 

आज मंगलबार बिहान सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अन्तुडाँडा सामुदायिक होमस्टेहरुलाई एक्सेल डेभलपमेन्ट बैंकबाट उपलव्ध गराइएको क्यूआर कोड हस्तान्तरण गरी उक्त सेवाको सुरुआत गरेका हुन्। उक्त क्यूआर कोड सेवा सुरु भएसँगै अन्तुडाँडामा रहेका सामुदायिक होमस्टेहरुमा ग्राहकले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सीधै उनीहरुको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्नेछन्।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आइरहेको छ।  नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ। 

उक्त क्यूआर कोड हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले अन्तुडाँडा सामुदायिक होमस्टेहरुमा एक्सेल डेभलपमेन्ट बैंकले सुरु गरेको क्यूआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पँहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताए। उनले यसका साथै वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बताए।