पोखरा । नयाँ पर्यटकीय गन्तव्यका रुपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए। बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दूरी सेदीबगरदेखि सराङकोटसम्म २ हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केबल ९ मिनेटदेखि १० मिनेटभित्रमा नै पार गर्न सकिने बनाएको छ।

१७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा ८ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घन्टामा ५०० जनासम्मले यात्रा गर्न सकिने बर्ताएको छ। 

कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तयगरेको छ। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। 

यसैगरी विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।