काठमाण्डौ । अबिर आर्टिसन फेस्ट–२०२२ आउँदो असोज १ गते हुने भएको छ। 

अबिर आर्टिसन फेस्ट ललितपुरको मंगलबजारस्थित पाटन संग्रहालय परिसरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। 

नेपाली सीपकर्मी डिजाइनर्स, ब्राण्ड र उत्पादकहरुको लागि एकीकृत बजार तथा क्रेता र बिक्रेताका लागि अन्तरक्रिया गर्ने मौकाको विकास गर्ने उद्देश्यले सुरु गरिएको हो। 

यो कार्यक्रमले आफूसँग आबद्घ श्रजक तथा उत्पादकहरुका लागि आफ्ना सामग्री प्रदर्शन, बेच्न, ब्राण्डको बजारीकरण गर्नका साथ साथै व्यावसायिक सम्बन्ध विस्तृत पार्न तथा आपसको साझेदारी समेत गर्ने र गराउन ठूलो मौका प्रदान गर्न सफल बनाउनेछ। 

यस प्रदर्शनीमार्फत धेरै मानिस नेपाली भूमिमै श्रृजित तथा उत्पादित सामग्रीप्रति अझ धेरै सजक तथा उत्सुक हुने विश्वास राख्दछ। यसले नेपाली उत्पादक व्यावसायीहरुले भोगिरहेका विभिन्न चुनौतीलाई केही हदसम्म भए पनि सहज गरी सही ग्राहकसम्म पुग्न मद्दत पुर्याउनेछ।

यसका साथै अबिर टिमले यस प्रदर्शनीलाई पारिवारिक अनि रमाइलो जमघट बनाउन विभिन्न किसिमका सामग्रीसमेत पस्कने तयारी गरेका छन्। यसले विभिन्न किसिमका गेम, संगीत, खानाका स्टलहरुसमेत व्यवस्था गर्न लागेका छन्। तसर्थ, सबै नेपाली ब्रान्ड आर्टिसन्स सबैलाई यस कार्यक्रममा सहभागी भई दसैँको खरिद गरी नेपाली गुणस्तरीय सामानहरुको प्रयोग गर्ने र रमाउने मौका लिन पनि आयोजकले आग्रह गरेको छ। 

अबिर एउटा वातावरण, नैतिक तथा सामाजिक दायित्व बहन गरी सञ्चालन गर्दै आएको पहिरणको नेपाली ब्रान्ड हो। यसले प्राय नेपाली प्राकृतिक कपडा तथा सीपको प्रयोग गरी आफ्ना लुगा तथा अन्य सामग्रीको सिर्जना तथा उत्पादन गरी बजारीकरण गर्दै आएको छ। यसले अपसइकिङ पनि मुख्य स्थान दिई आफ्ना उत्पादन सिर्जना गर्दै आएका छन्।