काठमाण्डौ । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको  नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको हो। सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा काठमाण्डौ उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति थियो।

उक्त सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने छ। खुद्रा बिक्रेताहरु राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुसी महसुस भइरहेको बताउँछन्।