काठमाण्डौ । अवैध रुपमा अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न एक भारतीयसहित ३ जना पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ क्याम्पसरोडको ५ नम्बर गल्तीबाट ती ३ जनालाई बुधबार (साउन १० गते) पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत नयाँदिल्लीका ४१ वर्षीय गुल्जार अहमद, कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र कञ्चनपुर भीमदत्त नगरपालिका–१०का दीपकसिंह बोहरा छन्।

यो गिरोहले स्थानीइ जंगबहादुर मल्ल र दिनेश मल्लको ५ तले घरमा जनमराज जोशीले भाडामा लिएको पाचौँ तल्लाको फ्याटको एउटा कोठामा विगत ४ महिनादेखि यो अवैध धन्दा चलाइरहेको खुलेको सीआईबीले जनाएको छ। ‘केही व्यक्तिबाट गैरकानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहकार्यमा उनीहरुलाई पक्राउ गरिउको हो’, सीआईबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

यो गिरोहले नेपाल टेलिकमको एसआईपी पीबीएक्स कनेक्सन गरी कल बाइपास गरिरहेको अवस्थामा उनीहरुलाई अवैध धन्दामा प्रयोग गरिएका उपकरणसहित पक्राउ गरिएको सीआईबीले जनाएको छ। हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।