काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ।

दुधौली नगरपालिका सिमराही (कटारी बजारनजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित शोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। सुविधा सम्पन्न शाखाबाट अशोक लेलैन्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन्।

शाखाको उद्घाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैन्डका क्षेत्रीय प्रमुख तन्मय मित्रका साथै उक्त क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको हो।

उद्घाटनसत्रमा संक्षिप्त मन्तव्य दिँदै ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैन्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्रान्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए। यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैन्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्रीपछिको सेवाका लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता उनले व्यक्त गरे। 

कार्यक्रममा अशोक लेलैन्ड भारतका क्षेत्रीय प्रमुख तन्मय मित्रले अशोक लेलैन्ड हिन्दुजा समूहअन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोस्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैन्डको आक्रमक बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए। 

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ। आइएमई मोटर्सले ट्रक, टिप्पर, स्कुल बससहित साना तथा ठूला कमरसियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। यसका साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ। 

उद्घाटन गरिएको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखाबाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ।