काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्।

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ।

पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्धान्तिक एवं प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन्। 

काठमाण्डौ पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङमा नवनियुक्त सीईओको स्वागतका लागि मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष एवं ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरे। 

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट  सुमन पोखरेलसहित ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीको सहभागिता थियो।