काठमाण्डौ । आइएमई इन्डिया प्रालिले भारतको राजधानी नयाँदिल्लीस्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ। 

जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले उक्त शाखा उद्घाटन गरेका हुन्। आइएमई इन्डियाले नयाँ शाखामार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ। 

शाखा उद्घाटन गर्दै राजदूत शर्माले नयाँदिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इन्डियालाई बधाइ दिँदै नयाँ शाखामार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इन्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए। 

उक्त अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए। यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि ढकालले उल्लेख गरे। 

शाखा विस्तार समारोहमा दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालसहित आइएमई इन्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारीसहित त्यस क्षेत्रमा रहेका नेपालीहरुको समेत उपस्थिति थियो।