काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।

भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।  

डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका  थिए।  पछि फाइनान्स बैंकसंग मर्ज भएपछी बैंक हुँदै ४ बर्ष आईएमई मोटर्स बिरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन्  ।  

सरकारी जागीर छोडेर बैङ्किङ सेवातिर लागेका उनले  बैंकिङ्ग  र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन। त्रिभुवन बिश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले  म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान)  बाट ईएमबीए समेत गरेका छन् । 

आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोवार गर्न  इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्व भन्दा बढी लगानी गरेको छ। 

लगातार ४ बर्ष देखि नाफामा रहेको कम्पनीलाई आगामी  दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र  छिट्टै आईपिओ समेत निस्कासन गर्ने तयारी रहेको बुझिएको छ।