काठमाण्डौ । आईपीओमा सधैँ बल ताल्न पुग्ने लक्ष्मण श्रेष्ठलाई सेयर कत्तिको पर्ला ? धेरैलाई भन्ने गर्छन्–‘लक्ष्मणले बल तानेर आफूलाई मात्रै पार्छन्। वा क्यापिटलले नै उनलाई सेयर पारिदिन्छन्।’

यथार्थमा त्यस्तो भने हुँदैन। लक्ष्मणले बल ताने पनि उनलाई सेयर नपरेको जुगौँ भइसक्यो। तर, पनि उनी निराश छैनन्। 

लक्ष्मण सधैँ जोश र जाँगरका साथ क्यापिटल पुग्छन् र डालोबाट एउटा बल तान्छन्। कतिपयले त सेयर नपरेपछि उनीलाई गाली गर्दै भन्छन्–‘सधैँ यही मान्छेले बल तानेर हामीलाई सेयर परेन।’ तर, लक्ष्मण कहिल्यै हरेश खाएनन्। 

प्राथमिक बजारमा सेयर नपरे पनि आज लक्ष्मणको भाग्यले साथ दियो। अन्तर्राष्ट्रिय ब्रान्ड ‘बेलाको’ कम्पनीले आज आयोजना गरेको प्रडक्ट लन्च कार्यक्रममा उनी पुरस्कार जित्न सफल भए। उनले तेस्रो पुरस्कारका रुपमा बेलाको ब्रान्डको आइरन जिते। 

आयोजक कम्पनीले आफ्नो प्रडक्ट लन्च गर्ने क्रममा कार्यक्रममा उपस्थितिलाई सहभागी गराई पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरेको थियो। जसमा कम्पनीले प्रथम पुरस्कार जित्नेलाई मिक्सचर र दोस्रो हुनेलाई राइस कुकर दिएको थियो। यी तीनै पुरस्कार विजेताको नाम कम्पनीले गोलाप्रथाबाट छनोट गरेको थियो। 

यो कम्पनीका उत्पादनहरु गैरआवासीय नेपाल (एनआरएन)ले नेपालमा भित्र्याएका हुन्। अहिले नेपाली बजारमा बेलाको ब्रान्डका फ्रिज, टीभी, वासिङ मेसिन, राइस कुकरलगायत अन्य विद्युतीय समान बिक्रीवितरण हुँदै आएको छ। 

नेपालमा यो कम्पनीको ब्रान्ड एम्बेसेडरमा प्रदीप खड्का रहेका छन्।