काठमाण्डौ । आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ। 

स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो। उत्कृष्ट ५ मा पर्ने स्टार्टअपमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि छन्। 

यसैगरी प्रडक्ट आईसीटी अवार्डअन्तर्गत उत्कृष्ट ५ प्रडक्टमा डिजी बज, फास्ट बैंकिङ, मनी मित्र, क्युकआरपीए र यात्री पी–१ रहेका छन्। राइजिङ स्टार इन्नोभेसन विधाअन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रस्ट नेपाली छन्। 

आईसीटी अवार्डका यी ३ विधामा २०० बढीको नोमिनेसन प्राप्त भएको थियो। उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाण्डौमा आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए। यसैगरी उनीहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसनअन्तर्गत प्रिजेन्टेसन एन्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुति दिएका थिए। उनीहरुको प्रस्तुति, आइडिया र स्टार्टअपका बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ।  

विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ ले केही समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन् भने स्र्टाअपलगायतका विधामा जुरी समितिले कार्यालय भिजिट पनि गर्नेछ। उत्कृष्ट ५ मा पर्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आईसीटी अवार्ड विधामा सहभागी हुन पाउनेछन्।  सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। 

यसैगरी आईसीटी अवार्डअन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रक्रिया जारी रहेको छ। प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्डका विधाहरुमा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालनमा छ। 

त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको छ। 

साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड विधामा नोमिनेसन अवधि समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ। साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढीको नोमिनेसन प्राप्त भएको छ। यस विधामा सर्वोत्कृष्ट छनौटका लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु छन्। 

क्रम लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो। यस वर्ष आठौँ संस्करणअन्तर्गतको आईसीटी अवार्डमा १३ विधामा ५५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको छ। छनौटका लागि १४ जना विज्ञ जुरी सदस्य रहेका छन् भने १३ जनाको शिशिष्ट सल्लाहकार समिति रहेको छ। 

अवार्डमा छनौट प्रक्रियाका लागि २५ बढी जुरी मिटिङ र प्रवर्द्धनको १० बढी प्रि–इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ। यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नास्ट, एफएनसीसीआई, न्यास आईटीलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सस्थाको सहकार्य रहेको छ।