काठमाण्डौ । जोहरा इन्टरनेसनल प्रालि एक अग्रणी खेलकुद अधिकार अधिग्रहण फर्मले नेपालको भूभागभित्र जिम्बावेमा  आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने आईसीसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि आधिकारिक रुपमा विशेष मिडिया अधिकार प्राप्त गरेको छ। 

स्टार इन्डिया प्रालिमार्फत आधिकारिक सबइजाजतपत्रदाता जोहरा इन्टरनेसनलले नेपालको अग्रणी मनोरञ्जन र खेलकुद मार्केटिङ फर्म एड प्याड प्रालिलाई विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको छ। 

नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि छनोट भएको यो पहिलोपटक हो र नेपाली दर्शकले सजिलै पहुँचयोग्य तरिकाले प्रतियोगिता कसरी हेर्न सक्ने भन्नेमा व्यापक जिज्ञासा थियो।

एडप्याडले यस प्रतियोगितालाई नेट टीभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गर्ने घोषणा गरेको छ। नेट टीभी एपलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ र यो नेपालको पहिलो र अग्रणी आईपीटीभी प्लेटफर्म र सबैभन्दा मूल्यवान पे टीभी कम्पनी हो। प्रतियोगिताका सबै ३४ खेल नेट टीभी एप र वेबसाइटमा प्रसारण गरिनेछ। जसमा नेपालको भूभागभित्रका अन्य विदेशी प्रसारणकर्तामा उपलब्ध हुने छैनन्। सबै खेलको प्रत्यक्ष प्रशारण नेपाली समयअनुसार १२ः ३५ बजेदेखि सुरु हुनेछ।

यस वर्षको सुरुमा जोहरा र एड प्याडले युट्युबमा एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रिमिङ प्रदान गर्न साझेदारी गरेका थिए। जुन नेपालमा सबैभन्दा धेरै हेरिएको डिजिटल कार्यक्रम बनेको थियो। सो प्रत्यक्ष प्रशारणमा २० लाखभन्दा बढी अद्वितीय दर्शक जोडिएका थिए र नेपाली खेलकुदको इतिहासमा पहिलोपटक युट्युबमा ट्रेन्डिङ नम्बर १ स्थान हासिल गर्दै एकै समयमा १.८७ लाख दर्शकले खेल प्रत्यक्ष हेरेको किर्तिमान बनेको थियो। 

‘साँच्चिकै भन्नुपर्दा, यो प्रतियोगिता अब नेपाली प्लेटफर्ममा निःशुल्क उपलब्ध हुने कुरामा मैले निकै राहत महसुस गरेको छु। यसअघि विदेशी प्रशारणकर्तामा कतिवटा खेल प्रशारण हुने भन्ने अन्योलता थियो। हामीले आइसीसीलाई पनि पत्र लेखेका थियौँ तर निजी कम्पनीहरुले आफ्नै पहलमा समयमै प्रशारण अधिकार हासिल गर्दै नेपाली क्रिकेट प्रेमीहरुमा पुग्ने कुरा सुनिश्चित गरेकोमा मलाई धेरै गर्व छ’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने। 

‘स्टार इन्डियासँग धेरै कुराकानी पछि अन्ततः अधिकारहरु प्राप्त गर्न पाउँदा हामी उत्साहित छौँ र हामी अब क्रिकेटको भोका राष्ट्रलाई प्रतियोगिताका सबै खेल डिजिटल रुपमा उपलब्ध गराउन सक्षम भएकोमा गर्व गर्छौं। यो नयाँ सुरुआतमात्र हो र नेपाली दर्शकले डिजिटल रुपमा उपलब्ध हुने धेरै टुर्नामेन्ट विशेष गरी नेपाल समावेश हुने अपेक्षा गर्न सक्छन्। म आफैँ एक भूतपूर्व क्रिकेटरको हैसियतमा यस प्रतियोगिताको गुरुत्वाकर्षणसँग जानकार छु र हामीले नेपाललाई हरेक खेलमा, चाहे त्यो ८००० किलोमिटर टाढाबाटै होस्, सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्न सफल भएका छौँ’, जोहरा इन्टरनेसनलका एमडी आमिर अख्तरले भने। 

’डिजिटल युगमा दर्शकलाई सजिलो पहुँच नहुनु र विशेषगरी यो परिमाणको प्रतियोगितामा आफ्नै टोलीको खेल हेर्नबाट वञ्चित हुनु अनुचित हुने थियो। हामी जोहरासँग साझेदारी गर्न पाउँदा र नेट टीभीमार्फत सबै मोबाइल उपकरण र ल्यापटपमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगिता उपलब्ध गराउन पाउँदा गर्व गर्छौं र आगामी दिनमा यस्तै थप सहकार्यको अपेक्षा गर्दछौँ। हामी यो नेपाली खेलकुद प्रसारणमा कोशेढुंगा हुने आशा गर्दै हाम्रा प्रायोजकलाई विना अवरोध प्रशारण र उत्कृष्ट लगानीका अवसर प्रदान गर्न प्रतिबद्ध छौँ, जसले भ्युइङ एक्सपिरियन्सलाई बढावा दिनेछ’, एडप्याडका एमडी सुरज गिरीले भने। 

‘नेपाल प्रथमपटक विश्वकप छनोट प्रतियोगितामा पुग्दा ती सबै खेलहरुका प्रत्यक्ष प्रसारण नेट टीभी एप र वेबसाइटमा निःशुल्क गर्न पाउँदा हामी गौरवान्वित छौँ। नेट टीभीमार्फत सिमलेस र हाई क्वालिटी स्ट्रिमिङ नेपाली दर्शकले अनुभूति गर्न पाउनेछन्् र यो नेपाली खेलकुद प्रसारणको इतिहासमा एउटा नयाँ कोशेढुंगा स्थापित हुनेमा हामी विश्वस्त छौँ’, नेट टीभीका अध्यक्ष मनोज अग्रवालले भने।