काठमाण्डौ । आगामी असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि मतदाता परिचयपत्र वितरण कार्य थालेको छ । 

आयोगका कर्मचारीहरुले मतदाताहरुको सम्बद्ध मतदान केन्द्रबाट आइतबारदेखि तीन दिनसम्म परिचयपत्र बाँड्नेछन् । 

आयोगका अधिकारीहरुले पहिलो चरणको निर्वाचनमा मतदाता परिचयपत्र वितरणमा ढिलाई गर्दा केही समस्या भएको र आलोचना समेत व्यहोर्नुपरेको भन्दै यसपटक भने बेलैदेखि काम सुरु गरिएको बताएका छन् । 

दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ वटै स्थानीय तहका ८ हजार बढी मतदात केन्द्रबाट मतदाता परिचयपत्र बाँड्न सुरु गरिएको आयोगले जनाएको छ । 

आयोगका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण हुनेछ । मतदाताले आफ्नो मतदान केन्द्रमा गएर नागरिकता देखाई मतदाता परिचयपत्र लिन सक्नेछन् । विदेश गएका वा अन्य कारणले परिचयपत्र लिन नसक्नेले परिवारका अन्य सदस्यको सहयोगमा लिन सक्ने व्यवस्था मिलाइएको छ । 

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रबाट ७ सयदेखि एकहजारवटा मतदाता परिचयपत्र वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । आयोगले तीन दिनभित्रमा करिब ६४ लाख मतदाता परिचयपत्र बाँड्नुपर्नेछ ।