काठमाण्डौ । आन्तरिक तथा बर्डर सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले (बर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ। 

यसै क्रममा पर्यटन बोर्डले २०७८ चैत ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ।

बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए। नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरुको व्यावसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरुसँग व्यावसायिक सम्बन्ध स्थापितगर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आव २०७८/७९ को नीति तथा कार्यक्रमअनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले बताए। 

यसै सन्दर्भमा नेपालगन्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथबोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा यही फागुन २६, २७ र २८ गते मार्ट सम्पन्न भएको छ। यस मार्टमा नेपालगन्ज सहरलाई गेटवे अफ कर्णालीको रुपमा प्रवर्द्धन गरिएको थियो।

त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा यही २०७८ चैत्र ११, १२ र १३ गते इस्ट टुरिजम मार्ट २०२२ र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते (तद्नुसार ८–१०, अप्रिल २०२२) मा फारवेस्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जानकारी दिएको छ। 

प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रचार गर्ने उद्देश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गइरहेको इष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए। धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेकोमा इष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उनले जानकारी दिए। 

यसैगरी चैत्र २५, २६ र २७ गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा ब्युटिफुल फारवेस्ट : शुक्ला टु अपीसाइपालको ब्राडिङ गरी सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए। 

यी मार्टहरुमा नाट्टाका प्रदेशस्तरीय च्याप्टरहरुका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सक्रिय सहभागिता रहेको छ।

यी मार्टहरुमा सीमावर्ती भारतीय सहरका टुर अपरेटरहरुलाई बायरका रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रबर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तर्क्रिया हुनेछ। यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवर्द्धन गर्ने बोर्डका वरिष्ठ निर्देशक ऐरले जानकारी दिए। 

यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवद्र्धन गर्नेछन्। स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहेका छन्। 

स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहेको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरुबीच टुर प्याकेजहरुको आदानप्रदान हुनेछ।