काठमाण्डौ । एमाले परित्याग गरी जातीय राजनीतिमा होमिएका नेता अशोक राई आफ्नै चेलाबाट लाजमर्दो हार व्यहोर्न बाध्य भएका छन् । 

देशमा जातीय मुद्धाको आगो बलिरहेको बेला छुट्टै दल गठनका लागि एमालेबाट विद्रोह गरेका उनी राजनीतिमा आफैंले प्रवेश गराएका र आफैंदारा प्रशिक्षित चेलासँग नराम्ररी पराजित भएका हुन् । 

अशोक राई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लडेका थिए । उनले जनजाति बाहुल्य धरानमा जातीय नारासहित जित्ने आँकलन गरेका हुनसक्छन् । तर, उनको जातीय नाराले फेल खायो र आफ्नै चेलोबाट पराजयको स्वाद व्यहोर्नुपर्यो।

सुनसरी १ नम्बर क्षेत्रबाट एमालेको तर्फबाट जयकुमार राईले आफ्ना गुरु अशोक राईलाई दोब्बर बढी मतले पराजित गरेका हुन् । 

जयकुमारले ४४ हजार ५ सय २८ मतसहित जित हासिल गरे भने अशोक राईले २२ हजार १ सय २३ मतमै चित्त बुुझाउनुपर्यो । 

संघीय समाजवादी पार्टीको तर्फबाट निर्वाचनमा होमिएका अशोक राईलाई कांग्रेसले समेत समर्थन गरेको थियो । तर, यो समर्थनले समेत काम गरेन ।