काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.५४ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्रीबापतको आम्दानी २५.४२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म उत्पादन बिक्रीबाट ८ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिसम्म घटेर ६ अर्ब ३८ करोड रुपैयाँमा सीमित बनेको छ। 

कम्पनीको सञ्चालक मुनाफा पनि घटेर ९५ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको आम्दानी र सञ्चालन मुनाफा घट्दा नाफा प्रभावित बन्न पुगेको हो।

चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ३०.३७ प्रतिशतले घटेर ९२ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.५८ प्रतिशतले घटेर २७.१७ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४३.५० रुपैयाँ थियो। पीई रेसियो ८२.७४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ।