काठमाण्डौ। हिमालयन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिद्धारा सञ्चालित एचआईएसटी (हिस्ट) इन्जिनियरिङ कलेज ग्वार्को ललितपुरका विद्यार्थी सोमबार भक्तपुरको एउटा कारखानामा पुगेका छन्। 

कलेजमा इन्जिनियरिङ संकायअन्तर्गत बीई सिभिलका प्रथम सेमेष्टर २०२२ अध्ययनरत विद्यार्थी इन्जिनियरिङ मेटेरिअलको फिल्ड भिजिटको क्रममा जिल्लाको चाँंगुनारायण नगरपालिका ३ झौखेलस्थित नेपाल इको प्यानलको कारखानामा पुगेका हुन्। त्यहाँ पुगेर नवइन्जिनियर विद्यार्थीले एकदिने भ्रमण गरेका थिए।

कलेजका प्रशाशन अधिकृत रवीन ढकालले विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सीमित नराखी प्राक्टिकल नलेज दिन भ्रमण गराइएको बताए। एकदिने भ्रमणमा कलेजका ५५ जना विद्यार्थी सहभागी गराइएको उनले जनाए।

नेपाल इको प्यानल इको प्यानल निर्माण गर्ने गर्दछ। नेपाल इको प्यानल आधुनिक निर्माण सामाग्री हो। स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रुपमा यसको प्रयोग हुन्छ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विद्यार्थीलाई इको प्यानल उत्पादनको क्रममा हुने सुरुदेखि अन्तिमसम्मको प्रक्रियाबारे जानकारी गराइएको बताए। यसमा विद्यार्थीले अभिरुचिपूर्वक सहभागिता जनाएको उनले जानकारी गराए। यस्ता भ्रमणले विद्यार्थीलाई विशेष जानकारी प्राप्त हुने विश्वास उनको थियो। साथै यसले विद्यार्थीलाई कितावमा पढेका विषयवस्तुबारे अझ गहिरो रुपमा बुझ्न सहयोग मिल्ने उनको अनुभव छ।

नेपाल इको प्यानलको कर्पारेट अफिस भने जिल्लाको सल्लाघारी (डा इवामुरा अस्पतालसँगै) मा रहेको छ। यसले देशभरका विभिन्न ठाउँंहरुमा डिलरमार्फत आफ्ना निर्माण सामग्री विक्रीवितरण गर्दै आएको छ।