इटहरी । मतगणना प्रारम्भ भएदेखि नै कांग्रेसको अग्रता कायमै छ । एमाले कार्यकर्ता आफ्नो क्षेत्रमा मतगणना कतिबेला पुुग्ला र कांग्रेसलाई उछिनौला भनेर घण्टा गनेर बसिरहेका छन् । मतगणनास्थल इटहरी उपमहानगरपालिका बाहिर कांग्रेसले निरन्तर नाराबाजी गरिरहेको छ । एमालेको वर्षौदेखिको लालकिल्ला भत्काउने उत्कट चाहनामा कांग्रेस देखिएको छ भने एमाले आफ्नो किल्लाको बचाउमा छ । मतपरिणाम सार्वजनिक भइरहँदा कार्यकर्ता र सर्वसाधारणमा अभूतपूर्व आतुरी देखिइरहँदा इटहरी उपमहानगर परिसरकै मनोरम मेचीकाली पोखरी नजिक निर्माणको काम धमाधम भइरहेको छ । 

अहिलेकै गतिमा इटहरी उपमहानगरको मतगणना जारी रहँदा समेत पूरा परिणाम आउन अझै ७ दिन लाग्ने देखिन्छ । मतगणनालाई अझ छरितो र तीव्र बनाउन निर्वाचन आयोगको निर्देशनपछि स्थानीय निर्वाचन कार्यालयले थप मतगणनास्थलको तयारी तीव्र पारिरहेको बेला मेचीकाली पोखरीको उत्तरतर्फ उपमहानगरका कर्मचारीहरुमा भने नयाँ मेयर र उपमेयरका लागि चिटिक्कको नयाँ भवन बनाउने हतारो उस्तै छ । 

भाइबरको छानासहितको भूकम्प प्रतिरोधात्मक  पाँचकोठे एकतले भवन निर्माणको काम अहिले तीव्र पारिएको हो । मजदूरहरुले भवनको धेरै काम सकिसकेका छन् । 

इटहरी उपमहानगरपालिकाले करिब १८ लाख रुपैयाँसम्म लागत पर्ने अनुुमानसहित ५ कोठे आधुनिक प्रविधि जडित भूकम्पप्रतिरोधी भवन निर्माण गरिरहेको हो । चिटिक्कको यो भवनमा उपमहानगरमा मेयर र उपमेयरमा निर्वाचितहरुको कार्यालय संचालन हुनेछ । 

‘एट्याच शौचालयसहितको मेयर र उपमेयरको भवन तीव्र रुपमा निर्माण भइरहेको छ ।’ उपमहानगरपालिकाका एक कर्मचारीले बिजशालासँग भने–‘अन्य ठाउँ थिएन, त्यसकारण नयाँ मेयर र उपमेयरका लागि नयाँ नै भवन निर्माण थालिएको हो ।’ 

पाँचकोठे भवनमा मेयर र उपमेयरको व्यवस्थित कार्यकक्ष, उनीहरुका निजी सचिवको कार्यसम्पादक कक्ष, बैठक कक्ष लगायत सो भवनमा हुने बताइएको छ । भवनमा चौबीसैघण्टा बिजुली, इन्टरनेट, बातानुुकुलित सुविधा लगायतका व्यवस्था समेत हुनेछ । 

१९ वर्षपछि जनप्रतिनिधि पाउन लागेको इटहरी उपमहानगरपालिका कर्मचारी समेत नयाँ मेयर र उपमेयर तथा अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गर्न आतुर देखिएका छन् ।