काठमाण्डौ । दोश्रो चरणको निर्वाचनमा सबैको चासोको केन्द्र बनेको एक मात्र महानगरपालिका विराटनगरको मतगणना कार्य अझै सुरु हुन सकेको छैन । 

विराटनगर महानगरको वडानम्बर ७ स्थित आदर्श स्कूलमा मतपेटिका राखेर गणनाको अन्तिम तयारीमा निर्वाचन आयोगका कर्मचारी खटिरहेका छन् । कुन वडाबाट कसरी मतगणना गर्ने भन्ने बिषयमा सर्वदलीय बैठकमा सहमति हुन समय लाग्दा समयमै महानगरको मतगणना हुन नसकेको बताइएको छ । 

उता, इटहरी उपमहानगरपालिकाको मतगणना भने भर्खरै सुरु भएको छ । मतगणना वडानम्बर १ र २० बाट एकसाथ सुरु गरिएको हो । 

इटहरीमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने विराटनगरमा कांग्रेस, एमाले र माओवादी केन्द्र तथा संघीय समाजवादी फोरमको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । धरान उपमहानगरपालिकामा समेत मतगणना गर्न केही ढिलाई भएको छ ।