काठमाण्डौ। इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन्।

इन्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुथुट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीसले भने, ‘हाम्रा ३६०० शाखाहरुमार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरुको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम हुनेछ।’

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए। आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इन्डो नेपाल रेमिट्यान्स सेवा विस्तारका लागि महत्वपूर्ण हुने धारणा राखे। 

कार्यक्रममा आइएमईका गौतम नैथानीले भने, ‘मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिट्यान्स सेवामा अर्को कोसेढुंगा थपिनेछ, जहाँ ग्राहकले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्नेछन्। यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरुलाई घर फर्काउनका लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ।’

नेपाली आप्रवासीले मुथुट फिनकर्पको ३६०० भन्दा बढी शाखामध्ये कुनै पनि शाखाबाट  नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन्। विशेषगरी नेपालका लागि विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ र हाल आप्रवाह हुँदै आएको रेमिट्यान्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औषतमा लगभग २३% योगदान गर्दछ। नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ। हरेक वर्ष धेरै नेपाली मौसमी बसाइसराइ, पार्टटाइम जागिर र सरकारी जागिरलगायत विभिन्न पेसाका लागि भारत जाने गर्छन्। 

आइएमई सन् २००१  देखि रेमिट्यान्स व्यवसायमा लागिरहेको छ। यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ।

आफ्नो स्थापनादेखि नैे रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।