काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले शनिबार इलामको इलाम नगरपालिकाको फुलगाँच्छीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ। धितोपत्र कारोबारसम्वन्धी पूर्ण सेवा प्रवाह गर्न नियामक निकायहरुबाट केही समयअगाडि अनुमतिप्राप्त भएकाले कम्पनीले सोही अवसरमा इलाम शाखा पनि उद्घाटन गरेको छ। 

कम्पनीका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाको सभापतित्व तथा इलाम नगरपालिकाकी उपमेयर विष्णु कुमारी लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाम वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, जिल्ला सहकारी संघ इलामका कोषाध्यक्ष छवि लम्साल, नगर सहकारी समन्वय समिति इलामका अध्यक्ष छत्रबहादुर चौहान तथा उपाध्यक्ष राजेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाइटी इलाम जिल्लाका कोषाध्यक्ष ईश्वर सुवेदी, लगानीकर्ता तथा प्रध्यापक तारा पराजुली, नेपाल पत्रकार महासंघ इलाम शाखा सदस्य गणेश घिमिरेलगायतको उपस्थिति थियो। 

कार्यक्रम सञ्चालन कम्पनीका प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले गरेका थिए। 

दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्थालगायतका विषयमा कार्यकारी अध्यक्ष तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। 

इलाम जिल्लामा बिजुली उत्पादनका लागि धेरै र्हाड्रोपावरहरु सञ्चालनमा आएका र कतिपय स्थानीय जनताहरुले आरक्षित कोटामा पाएको सेयरहरुसमेत अभौतीकरण नभएको हालको अवस्थामा सरोकारवाला निकायहरु तथा व्रोकरहरुले समेत आवश्यक प्रक्रियासहित सहजीकरण गरिदिन उपमेयर लिम्बूले आग्रह गरिन्। 

सेयर कोरोबारसम्बन्धी सचेतना अभिवृद्धि गराउने यस प्रकारका कार्यक्रमहरु सम्बन्धित पक्षहरुसँग समन्वय गरी स्थानीय निकायमार्फत वडा–वडामा सञ्चालन गर्नुपर्ने धारणा राखे वडाध्यक्ष श्रेष्ठले राखे। 

सहकारीलगायत अन्य संघसंस्थासँग समन्वय गरी वित्तीय साक्षरताका लागि सहयोगी भूमिका निर्वाह गर्दै हालको अवस्थामा देखिएको आर्थिक विषम परिस्थितिवाट माथि उठ्नुपर्ने धारणा जिल्ला सहकारी संघ इलामका कोषाध्यक्ष लम्सालले राखे।