काठमाण्डौ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। 

स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इसेवा मनी ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ। 

सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका छन्। इसेवा मनी ट्रान्सफर र लुलु मनीबीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरुमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।  

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन्।   

लुलु मनीबाट पठाएको रेमिट्यान्स इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनससमेत प्राप्त गर्न सकिनेछ। 

यस सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवामार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरैभन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारी रहनेछ।’

साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रुपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरु सुचारु गर्न पाउँदा आफू खुसी भएको बताइन्।  

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

लुलु मनी विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरुमध्ये एक हो। लुलु मनी विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र कम्पनीले विश्वभरि लाखौँ मानिसलाई छिटो र सहज रुपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरेको छ।