काठमाण्डौ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा ट्रयाङ्ग्लोबाट पनि सुरु भएको छ। 

स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इसेवा मनी ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई आत्मसात गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ। 

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्रयाङ्ग्लोको वेबसाइट, मोबाइल एप वा सीधै ट्रयाङ्ग्लोका शाखाहरुमा गएर १५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सक्नेछन्। साथै, ट्रयाङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। 

सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्रयाङ्ग्लोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरेका छन्। इसेवा मनी ट्रान्सफर र ट्रयाङ्ग्लोबीचको यो साझेदारीले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। 

सन् २००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो। इसेवाको वन–स्टप मोबाइल वालेटले ग्राहकलाई रेमिट्यान्स प्राप्त गर्न, आन्तरिक रुपमा पैसा पठाउन, बिल तिर्न र देशव्यापी रुपमा १३ लाख व्यवसायीलाई क्यूआरमार्फत ग्राहकबाट डिजिटल भुक्तानी लिने सुविधा दिँदै आएको छ।

यस सम्झौताबारे अध्यक्ष ढकालले भने, ‘हामी हाम्रा सेवा दिगो र सान्दर्भिक बनाउनका लागि हाम्रो विश्वव्यापी साझेदार ट्रयाङ्ग्लोसँग मिलेर काम गर्न पाउँदा हर्षित छौँ र हाम्रो आवश्यकता बुझ्दै क्यासलेस अर्थतन्त्रको अवधारणालाई ट्रयाङ्ग्लोले समेत आत्मसात गरेको छ।’

ट्रयाङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत लीले भने, ‘देशको कुल ग्राह्यस्थ उत्पादनको २०५ भन्दा बढी रेमिट्यान्सको योगदान भएकोले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्नु उच्च प्राथमिकता हो। हामी विश्वस्त छौँ कि हाम्रो अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउनेछ।’

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका २ करोडभन्दा बढी जनसंख्या र १ लाख ३० हजार बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो। 

ट्रयाङ्ग्लो अन्तर्राष्ट्रिय रेमिट्यान्स मोबाइल भुक्तानी समाधानमा आधारित एक अग्रणी नाममध्ये एक हो। सन् २००८ मा स्थापित ट्रयाङ्ग्लोका क्वालालम्पुर, सिंगापुर, जकार्ता, दुबई र लन्डनमा कार्यालय छन् र विश्वव्यापी १५० भन्दा बढी देश, ५ हजार ८०० मोबाइल अपरेटर, २ हजार २०० बैंकरवालेट र १ लाख ४० हजार नगद भुक्तानी केन्द्र फैलाएको छ। 

अन्तर्राष्ट्रिय भुक्तानी र उद्यम ब्लकचेन समाधानमा अग्रणी रिप्पल ट्रयाङ्ग्लोको एक साझेदार हो। ट्रयाङ्ग्लोले रिप्पलनेट रिप्पलको विश्वव्यापी भुक्तानी नेटवर्कमार्फत अझ फराकिलो कभरेजको साथ परिष्कृत क्रस–बोर्डर भुक्तानी सेवा प्रदान गर्दै आएको छ।