काठमाण्डौ । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ। 

यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखामा गई इसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछन्। अबदेखि  कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत इसेवा मनी ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ। 

यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवा मनी ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ। यसका साथै अलदार एक्सचेन्जको अलदार वर्कस एपबाट पनि चाँडै इसेवा मनी ट्रान्सफरको सेवा सुचारु हुनेछ। 

उक्त सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ।’

अलदा एक्सचेन्ज कतारको अग्रणी रेमिट्यान्स भुक्तानी कम्पनी हो। यसले कतार मुद्रा विनिमय व्यापार उद्योगमा शीर्ष स्थान ओगटेको छ। यो सन् २००६ यता कतारी रेमिट्यान्स बजारको एक अभिन्न हिस्सा ओगटेर बसेको कम्पनी रहेको छ। अलदार एक्सचेन्ज संसारका आफ्ना स्थानका अब्बल ८५ बैंकहरुसँग रेमिट्यान्सको कारोबार गर्दै आएको छ भने यसले संसारभर इसेवा मनी ट्रान्सफरजस्तै हजारौँ रेमिट कम्पनीसँग आबद्ध रहँदै संसारभरिका मानिसलाई सहज र सुचारु ढंगमा रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ। 

इसेवा मनी ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रानसफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो।