काठमाण्डौ । ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू प्रतिबन्धको आलोचना गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएकोमा आलोचना गरेको हो। संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाण्डौ उपत्यकामा कार्यावधि बिहान ९ बजेसम्म सीमित गर्नु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेरबदल नगर्नुमा आपत्ति जनाएको छ। ‘यसले उपभोक्ताका साथै ई–वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौँ साना र मध्यम व्यवसायलाई नकारात्मक असर पार्नेछ’, संघले भनेको छ।
संघका अध्यक्ष सागर भट्टराईले सरकारले लगाएको सुरक्षा उपायहरू (२ मिटर दूरी कायम राख्नु, डिलिभरी कामदारहरूलाई सेनिटाइजर, ग्लोभ्स, र मास्कले सुसज्जित गर्नु, उनीहरुको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नु) लाई ई–व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैँ अनुशरण गर्दै आएको बताए। ‘ हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौँ’, उनले भने, ‘सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ। यसले ई–व्यवसायमार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायहरूको कष्टहरू कम गर्दछ र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ। यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरुलाई सम्बोधन गर्न आग्रह गर्दछु।’
‘महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिनाभन्दा बढी भइसकेकोले स्टेसनरी, मोबाइल र कम्प्युटरजस्ता सामग्री उपभोक्ताका लागि खाना र कपडाजत्तिकै आवश्यक भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम चालेका छैनन्। धेरै व्यवसायहरू यस प्रतिबन्धबाट नकरात्मक रूपमा प्रभावित भएका छन्।’
यदि ई–वाणिज्य कम्पनीहरूलाई केही उत्पादन समूहहरूमा सीमित नराखी पूर्ण रुपमा वितरण सेवा सञ्चालन गर्न अनुमति दिने हो भने यो समस्या समाधान हुन सक्ने संघको दाबी छ। ‘यसका साथै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्छ’, संघले भनेको छ।
कोभिड–१९ महामारीको समयमा होम डेलिभरीको स्पष्ट लाभका कारण छिमेकी भारत, बंगलादेश, पाकिस्तानलगायत विश्वभरका देशहरूका सम्बन्धित सरकारहरूले ई–वाणिज्य र होम डेलिभरीलाई आवश्यक सेवाको रुपमा पूर्ण रुपले सञ्चालन गर्न दिइएको संघले उल्लेख गरेको छ। ‘यी देशहरूले घरेलु अर्थतन्त्रलाई वृद्धि गर्दै उपभोक्ताको सुरक्षा सुनिश्चित गर्न होम डेलिभरीमा कुनै किसिमको रोक लगाएको छैन’, संघले भनेको छ, ‘होम डेलिभरीलाई अनुमति दिँदा विभिन्न वस्तुहरू किनमेल गर्न मानिसहरु घरबाहिर निस्कनु पर्दैन र सरकारको जनादेश अनुसार कोभिड–१९ रोकथाम गर्न जारी आदेशहरुलाई कार्यान्वयन गर्न समर्थन गर्दछ।’
ई–व्यापार संघका अनुसार ई–कमर्स र होम डेलिभरी सेवाहरूमा सीमित कार्यावधि लागु गर्नु र चाहिने सामग्रीहरुको उपलब्धतामा रोक लाउनु भनेको अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूलाई पूर्ण रुपमा बेवास्ता गर्नु हो। ‘यसैले सरकारले होम डेलिभरी सेवालाई जोड दिनुपर्छ, जसले समुदायलाई उत्थानका साथै महामारीबाट प्रभावित साना व्यवसायलाई प्रोत्साहित गर्नेछ किनभने ई–वाणिज्य र होम डेलिभरी कम्पनीहरूले महामारीको क्रममा अर्थतन्त्रलाई माथि ल्याउन एक सहयोगी स्तम्भको रूपमा काम गर्नेछन्’, संघले भनेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago