काठमाण्डौ । नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले संसोधित विधानको मर्मविपरीत गैरकानूनी ढंगले आगामी चैत २८ र २९ गते ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन आयोजना गर्न खोजेको आरोप लागेको छ ।
'विधानमा प्रष्ट रुपमा हरेक ३ वर्षको अन्तरमा चैत २८ गतेको दिन महासंघको अधिवेशन हुने र त्यो भन्दा एकमहिनाअघि प्रादेशिक उवासंघको निर्वाचन हुने भनिएको छ । प्रादेशिक उवासंघको निर्वाचन नभई केन्द्रको अधिवेशन हुनैसक्दैन । तर हालसम्म प्रदेश उद्योग वाणिज्य संघको निर्वाचन त परको कुरा, गठन समेत हुन सकेको छैन ।'
विधानले गरेको व्यवस्थाको ठाडो बर्खिलाप गर्दै महासंघमा हाबी भइराख्ने बैंक डिफल्टर चण्डीराज ढकाल लगायतको ग्राण्ड डिजाइनलाई सफल बनाउने उद्देश्यले मात्र उद्योग वाणिज्य महासंघको महाधिवेशन पेलेकै भरमा गराउन लागिएको भन्दै महासंघकै पूर्व अध्यक्ष तथा पदाधिकारीहरुले रोष प्रकट गरेका छन् ।
आइतबार राजधानीमा आयोजित किशोर प्रधान समूहको औपचारिक उम्मेद्वारी घोषणासभामा पूर्व अध्यक्षहरुले नै महासंघको आगामी अधिवेशन अबैध रहेको भनेपछि तोकिएको मितिमा अधिवेशन हुने या नहुने अन्यौल बढ्नसक्ने देखिएको छ ।
घोषणासभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले देशको संविधान नै पूर्ण कार्यान्वयन नभएको अवस्थामा महासंघको विधान हतार–हतार संसोधन गरी गैरकानूनी ढंगले अधिवेशन हुन लागेको दाबी ग्रे । उनले नेतृत्व चुन्ने बेला हुने अस्वस्थ प्रतिस्पर्धा अन्तको उद्देश्यले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति स्वतः अध्यक्ष हुने भनी गरिएको विधान संसोधन गलत रहेको टिप्पणी गर्दै नयाँ व्यवस्था परिवर्तन गरी पुरानै व्यवस्था कायम गराउन फेरि विधान संसोधनको प्रस्ताव पेश हुनुपर्नेमा जोड दिए । उनले भने–‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान संसोधन नभएसम्म महासंघ ठीक ठाउँमा हिँड्न सक्दैन ।’ उनले अबको नेतृत्वले ध्वस्त बनाइएको महासंघको प्रतिष्ठा र अस्तित्व जोगाउनका लागि समेत बचाउ अभियान संचालन गर्नुपर्नेमा जोड दिए । ‘महासंघमा अहिले खडेरी लागेको अवस्था छ ।’ उनले भने–‘पहिला मैले दूरबिन हेर्नुपर्ने कुरा गरेको थिएँ, यस्तै ताल हो भने महासंघ खोज्नलाई माइक्रोस्कोप आवश्यक हुने दिन नआउला भन्न सकिन्न ।’
महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघको निर्वाचनमा पैसा, दवाब र प्रभावको बढी चलखेल भएकोले विधान संसोधनको कुरा उठे पनि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी गलत उद्देश्य, प्रक्रिया र परिस्थितिमा जबरजस्ती संसोधन गरिएको भन्दै महासंघको आगामी अधिवेशन नै अबैध रहेको दाबी गरे । ‘विशेष साधारणसभाले नै पारित गरिसकेपछि विधान नमान्ने भन्ने कुरा हुँदैन ।’ उनले भने–‘तर विधान जे उद्देश्यका लागि संसोधन गरिएको थियो, त्यो उद्देश्य हासिल हुन सकेन, विधान संसोधन आफैंमा असफल भइसक्यो ।’ उनले विधान संसोधन चुनावको बेला हुने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, पैसाको खेल बन्द गर्ने लगायतको अभिप्रायबाट प्रेरित भएर गरिएको भनिए पनि अध्यक्षको चुनाव झै वरिष्ठ उपाध्यक्षको चुनावमा पैसा, दवाब र प्रभाव हाबी भएको भन्दै विधान संसोधन औचित्यहीन बनिसकेको टिप्पणी गरे ।
राजकर्णिकारले संघीयता र प्रदेशको बिषयमा राज्य नै अलमलमा परेको अवस्थामा राज्यभन्दा पहिला विधान संसोधन गरी प्रादेशिक उद्योग वाणिज्य संघको प्रावधान राखिएको र संसोधित विधानमा प्रादेशिक उद्योग वाणिज्य संघको अधिवेशन नभई महासंघको अधिवेशन नहुने स्पष्ट व्यवस्था भएकोले चैत २८ र २९ गतेको अधिवेशन नै अबैध रहेको दाबी गरे । ‘विधानमा प्रष्ट रुपमा हरेक ३ वर्षको अन्तरमा चैत २८ गतेको दिन महासंघको अधिवेशन हुने र त्यो भन्दा एकमहिनाअघि प्रादेशिक उवासंघको निर्वाचन हुने भनिएको छ ।’ उनले थपे–‘प्रादेशिक उवासंघको निर्वाचन नभई केन्द्रको अधिवेशन हुनैसक्दैन । तर हालसम्म प्रदेश उद्योग वाणिज्य संघको निर्वाचन त परको कुरा, गठन समेत हुन सकेको छैन । यहीकारण प्राकृतिक न्यायको सिद्धान्त तथा विधानको मर्मको हिसाबले समेत यो अधिवेशन अबैध छ ।’
उनले केही समूहको चलखेलका कारण उद्योग वाणिज्य महासंघको नयाँ किचलो सुरु भएको समेत बताए । उनले वरिष्ठ उपाध्यक्षको निर्वाचनको क्रममा ठूलो पैसाको खेल भएको दाबी गर्दै अगाडि भने–‘उद्योग वाणिज्य महासंघ पैसा हुनेहरुले मात्र उठ्ने संगठन होइन । यो पैसावालको संगठन हो, तर पैसा कम भएकाहरुले पनि नेतृत्वमा जान पाउनुपर्छ ।’ उनले पैसा खर्च गरेको भरमा चुनाव जित्ने प्रणाली विकास भयो भने सशक्त र जुुझारु नेतृत्व आउन नसक्ने प्रष्ट पारे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष सुरज वैद्यले विधान संसोधनको गलत काम भएको टिप्पणी गर्दै अध्यक्षको कोठामा एउटा मात्र कुर्सी हुनुपर्नेमा बितेको ३ वर्षमा धेरैवटा कुर्सी थपिएको भन्दै व्यंग्य गरे । उनले पनि आगामी अधिवेशन अबैध रहेकोतर्फ इंगित गर्दै भने–‘जबकि विधानमै स्पष्ट छ कि, प्रदेशको चुनाव नभई यो चुनाव हुनैसक्दैन । कि त विशेष कारण हुनुपर्यो, अहिलेको अवस्थामा त्यस्तो विशेष कारण केही छैन ।’ उनले महासंघभित्र एक समूहले टुटफूट र निषेधको घिनलाग्दो राजनीति सुरु गरेको दाबी गर्दै यसबाट महासंघलाई जोगाउन मतदाताहरुले पैसाको पछि लाग्न नहुने सुुझाव दिए ।
अर्का पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूहरुले किशोर प्रधान समूहलाई समर्थन गर्नु पछाडि यो समूहबाट उम्मेद्वार रहेका विज्ञहरु मुख्य कारण रहेका प्रष्ट्याए । ‘उहाँहरुमा जति व्यवहारिक ज्ञान र क्षमता अर्को समूहको उम्मेद्वारहरुसँग छैन ।’ शेखर गोल्छा नेतृत्वको प्यानलतर्फ इंगित गर्दै जोशीले भने–‘किशोर प्रधान जीहरु हाम्रो पछि होइन, हामी उहाँको पछि छौ । तर अर्को समूहलाई केही पूर्व अध्यक्षले नै आफ्नो पछि लगाएर कठपुतली बनाएका छन्, गलत अभ्यास गरिरहेका छन् । प्रधान जीहरु कसैको व्यक्ति भएर चुनाव लडिरहनुुभएको छैन ।’ उहाँहरुको स्वविवेकले चुनावी अभियानमा होमिनुुभएको हो ।’ उनले कतिपयले पूर्व अध्यक्षले राजनीति गर्न खोजेका आरोप लगाएकामा आपत्ति जनाउँदै भने–‘हामीले भूमिका खेलेको होइन, सत्यलाई मात्र साथ दिएको हो । र, सत्यको जित सुनिश्चित छ ।’
किशोर प्रधान प्यानलको घोषणासभामा वस्तुुगततर्फ उपाध्यक्ष पदमा शंकर पाण्डे, जिल्ला नगरतर्फ उपाध्यक्षमा प्रमोद श्रेष्ठले आफू नेतृत्वको टिमको उम्मेद्वारी घोषणा गरेका थिए । वस्तुुगततर्फ १४ सदस्य र जिल्ला नगरतर्फ १२ सदस्यको उम्मेद्वारी समेत सोही कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो ।
चन्द्र ढकाल निर्विरोध
यसैबीच, घोषणासभा कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष सुरज वैद्यले आफूहरुको अथक प्रयासबाट ज्ञानेन्द्रलाल प्रधान र सौरभ ज्योतिले उम्मेद्वारी दर्ता नगर्न तयार भएका र यसले चन्द्र ढकाललाई एशोसिएटतर्फ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने बाटो खुलेको बताए । ‘हामी अझै पनि महासंघका सबै पदमा यसैगरी सहमति गराउन चाहन्छौ ।’ उनले थपे–‘हामी कसैलाई लोभलालच बाड्दैनौ, तानाशाही बन्दैनौं । बरु सबै पदमा सर्वसम्मत गरौं भन्ने हाम्रो चाहना हो ।’
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago