काठमाण्डौ । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन्। 

स्मार्ट वाटर प्रविधिअन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समितिमात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन्। 

दियालोले विकास गरेकोे प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेसन गर्दै लगिरहेको छ। दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ। जसमा खानेपानीको गुणस्तर मात्र नभइ खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको छ। हाल यस प्रणाली प्रयोग गर्न अधिकांश खानेपानी समितिले चासो देखाएका छन्। 

राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरु उत्सुक देखिएका हुन्। हाल केही समितिहरुमा यस प्रणाली लागु हुने क्रममा छ। 

यसै क्रममा दियालो टेक्नोलोजिजले मंगलबार मोरङको उर्लावारीमा प्रदेश नं. १ मा रहेका सबै खानेपानी समितिहरुका बीचमा एक कार्यशाला गोष्ठी आयोजना गर्यो। कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत पिआर खनालले समितिहरुका जिज्ञासाको जवाफ दिएका थिए। 

कार्यक्रमको उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले पानी जस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरुलाई लागु गर्न आग्रह गरे। 

हालसम्म करिब ६ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाइजेसन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो  प्रणालीको विकास गरेको हो। 

करिब १० वर्षअघि स्थापना भएको दियालोले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ। दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्ल्यू (पानी चुवाहट विश्लेषण ) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लिकेसन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्यांकीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ। यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।