काठमाण्डौ । छोटो समयमै नेपालको ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्रान्ड लोगो हालै अनावरण गरेको छ। अब उपाय सिटी कार्गो ‘उपाय’को नामले चिनिनेछ।

नेपालमा व्यापारिक र निजी प्रयोजनका लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदायकको परिचित नाम उपाय सिटी कार्गो हो भन्दा अत्युक्ति नहोला। उपायले प्रविधिको सही प्रयोग गरेर समग्र ढुवानी व्यवसायलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको छ।

‘पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो पुनः डिजाइन गर्नु चुनौती नै हुँदो रहेछ’, नयाँ लोगोका बारे प्रकाश पार्दै उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, ‘हाम्रो नयाँ लोगो देशभर आफ्नो ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व हो। उपाय आफ्नो डेलिभरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेधारहरुको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठूलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्दछ।’

नीलो र सुन्तला रङमा डिजाइन गरिएको उपायको नयाँ लोगोले विश्वास र ऊर्जालाई प्रतीक गर्न खोजेको छ। नयाँ लोगोमा तीनवटा माइल छन्, जसले उपायको पूर्ण ढुवानीको प्रक्रियालाई चित्रण गरेका छन्। पहिलो माइल ढुवानी प्रक्रियाको सुरुआत हो। मध्य माइलले सामान गन्तव्यसम्म पुर्याउनका लागि गरिने कार्यलाई जनाउँछ। अन्तिम माइलले सामान गन्तव्यमा सुरक्षित रुपमा पुगेको जनाउँछ।

नयाँ लोगोले उपायलाई एक विश्वसनीय र गुणस्तरीय इन्ड टु इन्ड लजिस्टिक सेवा प्रदायकका रुपमा स्थापित गर्न मद्दत गर्छ भन्नेमा कम्पनी विश्वस्त छ।