काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी)का लाभग्राहीका लागि प्रभु बैंकले विकसित नयाँ कर्जा सेवासम्बन्धी अन्तर्क्रिया गरेको छ।

एएसडीपी कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १-गरिबीविहीन र लक्ष्य २-शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा प्रभु बैंकका सीबीसीओ सुनिल रानालगायत कर्णाली प्रदेशअन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति थियो । एएसडीपीका संयोजक विनोदकुमार भट्टराईले एएसडीपीको परिचयसहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए। 

प्रभु बैंकको माइक्रोफाइनान्स डिपार्टमेन्टका प्रमुख चन्द्रबहादुर खत्रीले एएसडीपीको लाभग्राहीका लागि सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै लोन प्रडक्ट बनाई कार्यान्वयन गरिने जानकारी गराए। उनले कर्णाली प्रदेश तथा सोअन्तर्गतका शाखा प्रमुखहरुलाई यस कार्यक्रमअन्तर्गतका लाभग्राहीलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तीय साक्षरतासमेत उपलब्ध गराउनसमेत आग्रह गरे।