काठमाण्डौ । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो। 

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १– गरिबीविहीन र लक्ष्य २– शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ। यस कार्यक्रमका निम्नलिखित ४ सह–सम्भाग रहेका छन्–

  • सह–सम्भाग १– विस्तारित एवं विविधीकृत (समावेशी र दिगो कृषि मूल्य शृंखला)
  • सह–सम्भाग २– क्रियाशील (बजारमुखी सार्वजनिक तथा सामुदायिक) पूर्वाधार
  • सह–सम्भाग ३– मूल्य शृंखला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवा
  • सह–सम्भाग ४– मूल्य शृंखला विकासका र नवीनताका लागि दिगो कृषि सेवा सहयोग

यी चारवटा सह–सम्भागमध्ये कृषि क्षेत्र विकास कार्यक्रमले सह–सम्भाग ३ मार्फत कृषि उत्पादक, कृषि व्यवसायी र साना किसानको मागअनुसारको वित्तीय सेवाका लागि उपयुक्त वित्तीय सेवा प्रदायक; बैंक तथा वित्तीय संस्था र सहकारीसँग जोड्न सहजीकरण गर्दछ। यसै सन्दर्भमा कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृंखलामा आबद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच सम्झौता भएको छ। 

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक विनोदकुमार भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं कृषि क्षेत्र विकास कार्यक्रम तथा प्रभु बैंक लिमिटेडका कर्मचारीहरुको समेत उपस्थिति थियो। हस्ताक्षर कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य शृंखलामा आबद्ध कृषकको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नु रहेको छ। 

हस्ताक्षर कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले शुभ कार्यका लागि धन्यवादका साथै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे। 

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौताअनुरुप लक्षितवर्गलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरतासमेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे। 

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोदकुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे।