काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गर्ने भएको छ। 

कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनीहरुको औपचारिक रुपमा उद्घाटन गर्ने भएको हो। यी सबै कम्पनीको उद्घाटन भदौ १४ गते एकैपटक हुनेछ। उद्घाटन कार्यक्रम मुक्तिनाथ कृषि कम्पनीको प्रधान कार्यालयसँगै रहेको काठमाण्डौको बसुन्धारास्थित इन्द्रेणी फुडल्यान्डमा हुनेछ। 

मुक्तिनाथ कृषि कम्पनीको चौथो स्थापना दिवसका अवसरमा कृषिमा विशिष्टकृत वस्तु तथा सेवा प्रदान गरी समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने अभिप्रायले यी ८ वटा सहायक कम्पनीहरुको स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए। 

‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत कृषि मूल्य शृंखलामा व्यवसापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सबल बनाउने अभिप्रायले मुक्तिनाथ कृषि कम्पनी स्थापना भएको ढकालले बताए। 

मुक्तिनाथ विकास बैंकसहित नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा यो कम्पनी २०७५ सालमा स्थापित कृषि क्षेत्रको अग्रणी पब्लिक लिमिटेड कम्पनी हो।