काठमाण्डौ । डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले अब अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ। 

समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालीन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ग्राहक सामुन्ने ल्याएको हो। ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ। 

उक्त आईसर्भभित्र कार्ड सर्भिसेजमा क्लिक गरी सेवाग्राहीले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ। ग्राहकको आवेदनअनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकलाई एसएमएसमार्फत खबर गर्ने व्यवस्थासमेत छ। 

यस सुविधाले ग्राहकलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ। 

ग्राहकलाई विभिन्न अनलाइन सुविधाहरू एकैस्थानबाट प्रदान गर्दै आएको आईसर्भ डिजिटल सेवालाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको छ। डिजिटल बैंकिङको सुनौलो अनुभवका लागि बैंकले हाल आएर आईसर्भलाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहकसामु ल्याएको छ। यसमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्डसम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसका अलावा बैंकले आफूलाई पूर्ण रुपले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप निकट भविष्यमा सम्पूर्ण बैंकिङ सुविधाहरू आईसर्भमार्फत गर्ने लक्ष्य लिएको छ। 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्यूनीकरण गर्नका लागि पछिल्लोपटक अनलाइनमार्फत बैंकिङ सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ। 

बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालय, ४७१ एटीएम, ८८ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित बैंकिङमार्फत आफ्ना २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।