काठमाण्डौ । एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आमव्यवसायीमाझ पुर्याउने भएको छ। 

फिनटेक कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्स इन्कर्पोरेसनको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ। यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन्। 

अमेरिका, चीन, भारतलगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ। यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्तासँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यावसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन्। 

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिजा, मास्टर कार्ड, युनियनपेलगायतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्नसमेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीको उत्पादित वस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्रीवितरणमा सहयोग पुगी व्यवसायीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। समयअनुरुप परिष्कृत सेवा तथा सुविधा भित्र्याउन लागिरहेको एनआईसी एशिया बैंक र फिनटेक कम्पनीबीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आमसेवाग्राहीसमक्ष डिजिटल बैंकिङको पहुँच पुर्याउन सहयोग पुग्नेछ। साथै, बैंकले विभिन्न वालेट तथा पीएसओजस्ता फिनटेक कम्पनीहरूलाई कारोबार फछ्र्यौट सुविधा दिइरहेको अवस्थामा बैंकको डिजिटल बैंकिङ प्रणालीको विकास गर्नका लागि विभिन्न फिनटेक कम्पनीहरूलाई सशक्तिकरणको अभियान चलाइरहेको छ। 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्यूनीकरण गर्नका लागि पछिल्लो समयमा फिनटेक कम्पनीहरूमार्फत सहकार्य गर्दै बैंकिङ सेवा तथा सुविधालाई प्राथमिकताका साथ डिजिटलाइज गरिरहेको छ। 

बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालय, ४७१ एटीएम, ८८ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित बैंकिङमार्फत २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।