काठमाण्डौ। एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीका एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्विक पे’ सेवाको सुरुआत गरेको छ। 

हस्पिटालिटी, ट्राभल÷टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसायजस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडि बढाइरहेकाहरूलाई लक्षित गर्दै बैंकले यो सेवा सुरुआत गरेको हो। यो सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकबाट यो सेवा लिन चाहने व्यवसायीले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात भुक्तानी लिने लिंक आफ्ना उपभोक्तालाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ। उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ई–मेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्तालाई पठाउन सक्ने बैंकले जनाएको छ। 

उपभोक्ताले आफ्नो ल्यापटप वा कम्प्युटर तथा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ। 

अनलाइन भुक्तानी सेवामा आबद्ध नभएका ई–कमर्श कम्पनीहरूले ‘क्विक पे’ का माध्यमबाट भुक्तानी लिनुका साथै अफलाइन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्ने बैंकको विश्वास छ। यस सेवाले अनलाइन र अफलाइन भुक्तानीबीच गतिशील पुलका रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पुर्याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ। 

हाल एनआईसी एशिया बैंकमार्फत कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स, एनआईसी एसिया मोबैंक तथा अन्य अनलाइन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध छन्। अब यस ‘क्विक पे’ सेवाको सुरुआतले देशमा डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउन ठोस टेवा पुग्ने बैंकको विश्वास छ। हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको यो सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकले अपेक्षा लिएको छ।

बैंकले हाल मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत २२ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।