काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकमाझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ। 

हालसम्म ४८ हजारभन्दा बढी सदस्य जोडिएका यस भाइबर कम्युनिटीमार्फत ग्राहकको उपस्थितिलाई प्रवर्द्ध गर्ने अभिप्रायले बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ समेत सञ्चालनमा ल्याएको छ। जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन्। 

यही असोज १४ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने क्विज बजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जबाफ दिने एकजनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने हरेक दिन ४ जनाले रु. ५०० को मोबाइल रिचार्जसमेत जित्न सक्ने बैंकले जनाएको छ। यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोडिई त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ।

प्रतियोगिताअन्तर्गत सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पमध्येबाट सहभागीले सही जवाफ दिनुपर्ने हुन्छ। यसरी सोधिएका प्रश्नमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदासमेत सहभागी विजेता बन्न सक्नेछन् र जति धेरै सही जबाफ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुनेसमेत बैंकले व्यवस्था गरेको छ। बहुसंख्यक सहभागीबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ। 

यस प्रतियोगिताका अन्य नियम तथा सर्त बैंकको वेबसाइटमा उपलब्ध छन्। 

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ। जसमार्फत यस बैंकको क्विज बज योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिका बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत २७ लाख ३६ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।