काठमाण्डौ । विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आईपे) बीच व्यावसायिक सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र ट्रान्सक्यासकी क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन्। मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीले अब बिना झन्झट आईपेका एजेन्टहरु, मोबाइल एप तथा वेबसाइटमार्फत एनआईसी एशिया बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन्। 

यस सुविधाका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्थासमेत रहेको छ। यस व्यावसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका नागरिकले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ।

डिजिटल बैंकिङलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा आफ्ना ग्राहकको सहजताका लागि मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुआत गरेको छ। आन्तरिक रेमिट्यान्स पठाउने सुविधाअन्तर्गत जुनसुकै स्थानबाट जुनसुकै समयमा ग्राहकले आफ्नो एनआईसी एशिया मोबैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्ने र यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै रेमिट एजेन्टहरुबाट नगद रकम सहजै झिक्न सकिनेछ। 

त्यसैगरी रिसिभ रेमिट सुविधाअन्तर्गत बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनै पनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै एनआईसी एशिया मोबैंकमा रिसिभ रेमिट गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न सक्नेछन्। 

बैंकल मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत २७ लाख ३६ हजार बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।