काठमाण्डौ । विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच रणनीतिक साझेदारी भइरहेको छ। यसै सिलसिलामा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्डरेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी दुवै पक्षबीच साझेदारी भएको छ। 

यो साझेदारीबाट मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वर्ल्डरेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन्। यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका एनआईसी एशिया बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्थासमेत रहेको छ। 

यस साझेदारीले मलेसियामा लाखौँको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नेछन्। नेपालीहरुले वर्ल्डरेमिट एपका अलावा यसको वेबसाइट https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरुको खातामा रकम पठाउन सक्नेछन्। 

यसका साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, पोल्यान्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, नर्वे, रोमानिया, सिंगापुरलगायत विश्वका ५० भन्दा बढी देशबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा एनआईसी एशिया बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खातामार्फत ग्राहकमाझ सञ्चालनमा रहेको यो बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु.२ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।